अर्घाखाँचीमा बस दुर्घटना : २४ जना घाइते, दुईको अवस्था गम्भीर
अर्घाखाँची, २९ वैशाख । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मंगलबार पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणमा आएको ग १ ध ५०४ नम्बरको बस फर्किने क्रममा पाणिनी गाउँपालिका–८, दुर्गाफाँटस्थित कुडुलेमा दुर्घटनामा परेको हो ।
अर्घाखाँचीका प्रहरी प्रमुख, डीएसपी दिवसबहादुर जिसीका अनुसार दुर्घटनालगत्तै प्रहरी र स्थानीय बासिन्दाको टोलीले घाइतेहरूको उद्धार कार्य सुरु गरेको थियो । पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले पनि स्थानीयको सक्रियतामा उद्धार कार्य तीव्र पारिएको जानकारी दिए ।
घाइतेहरूलाई उपचारका लागि पाल्पा र अर्घाखाँची जिल्ला अस्पतालतर्फ पठाउने काम भइरहेको डीएसपी जिसीले बताए ।
दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।