अर्घाखाँची बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या चार पुग्यो, २७ जना घाइते
अर्घाखाँची, २९ वैशाख । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । सुपा देउरालीको दर्शन गरी पर्वततर्फ फर्कँदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दिवसबहादुर जिसीका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै, एक जनाको अर्घाखाँची अस्पतालमा र बस चालकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा कास्कीको पोखरा महानगरपालिका–१९ की ७८ वर्षीया राममाया बस्नेत र ७८ वर्षीया विन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका ४५ वर्षीय चालक रमेश जिसी रहेका छन् ।
दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज (पाल्पा) र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचार गराएका घाइतेहरूलाई पनि थप उपचारका लागि भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभयो ।
सन्धिखर्क–घुम्ती–तानसेन सडकखण्डको कुरुलेफाँट नजिकै भएको यो दुर्घटनाको प्रारम्भिक कारण ‘ब्रेक फेल’ हुनुलाई मानिएको छ । बस सडकबाट करिब १०० मिटर तल जङ्गलमा खसेको थियो । घटनामा अधिकांश घाइते पर्वतको मोदी गाउँपालिकाका बासिन्दा रहेका छन् ।
दुर्घटनालगत्तै डीएसपी जिसीको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।