नुवाकोटमा दुई दाजुभाइको विभत्स हत्या, शव खोलामा ढुङ्गाले थिचेर लुकाएको अवस्थामा फेला

नुवाकोट, ३० वैशाख । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको विभत्स हत्या गरिएको छ। किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र ३६ वर्षीय सूर्यमान तामाङको हत्या गरी किम्ताङ खोलामा लुकाएको अवस्थामा आज शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) बिक्रम लामाका अनुसार हत्या आरोपीले आफैँ प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिएका थिए। ती व्यक्तिले गए राति प्रहरीलाई फोन गरी ‘आर्थिक लेनदेनको विवादका कारण आफूले दुई जनाको हत्या गरी खोलामा लुकाएर फरार भएको’ बताएका थिए।

सोही सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले खोलामा ढुङ्गाले थिचेर लुकाइएको अवस्थामा दाजुभाइको शव बरामद गरेको हो। “आरोपीले गोली प्रहार गरी हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट प्रहरीले एउटा खुकुरी बरामद गरेको छ,” डीएसपी लामाले भन्नुभयो, “विस्तृत विवरण आरोपी पक्राउ परेपछि मात्र खुल्नेछ।”

पारिवारिक स्रोतका अनुसार मृतक दाजुभाइ गत मङ्गलबार बिहान कुलो निर्माणका लागि हिँडेदेखि नै सम्पर्कविहीन भएका थिए। घटनास्थल सडक पहुँचदेखि करिब पाँच घण्टाको पैदल दूरीमा पर्दछ।
प्रहरीले फरार अभियुक्तको तीव्र खोजी भइरहेको जनाएको छ।

मृतकको शवलाई आज साँझ नै परीक्षण (पोस्टमार्टम) का लागि त्रिशूली अस्पताल ल्याइएको छ। आर्थिक विवादले उग्र रूप लिँदा यो बीभत्स हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।