मर्दी पदयात्रामा बेपत्ता भिक्षु मृत फेला, कठिन भूगोलका कारण शव निकाल्न सकस
कास्की, २ जेठ । मर्दी हिमाल पदयात्राका क्रममा बेपत्ता भएका एक पर्यटक चार दिनपछि मृत फेला परेका छन् । काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो भनिने व्यक्तिको शव आज एउटा अप्ठ्यारो खोँचमा फेला परेको हो ।
गत वैशाख ३० गतेदेखि मर्दीको ‘भ्युपोइन्ट’ बाट हराएका उनको खोजीका लागि सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायीको टोली परिचालन गरिएको थियो । खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित ठूलो पहाडमुनिको खोँचमा शव फेला परेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो ।
अध्यक्ष तामाङका अनुसार हिउँमा देखिएको डाम र तल देखिएको कपडाका आधारमा झण्डै तीन घण्टा लगाएर उद्धार टोली शव भएको स्थानसम्म पुगेको थियो । “अत्यन्तै कठिन र भिरालो भूगोल भएकाले मानिसले बोकेर शव माथि ल्याउन सक्ने अवस्था छैन,” तामाङले भन्नुभयो, “हेलिकप्टरमार्फत उद्धारका लागि प्रशासन, प्रहरी र गाउँपालिकालाई जानकारी गराएका थियौँ, तर चार घण्टासम्म प्रतीक्षा गर्दा पनि हेलिकप्टर नआएपछि उद्धार टोली अहिले हाइक्याम्प फर्किएको छ ।”
मृतक भिक्षु लो क्याम्पमा बास बसेर वैशाख ३० गते समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा रहेको मर्दी भ्युपोइन्ट पुग्नुभएको थियो । त्यहाँस्थित एक चिया पसलमा आफ्नो झोला राखेर “केही बेर वरिपरिको दृश्यावलोकन गरेर आउँछु” भन्दै निस्किएका उनी साँझसम्म नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो ।
स्थानीयले दुई दिनसम्म निरन्तर खोजी गर्दा पनि फेला नपरेपछि शनिबार सुरक्षाकर्मीको टोली पुगेर पुनः खोजी थालिएको थियो । कठिन भौगोलिक अवस्थाका कारण शवलाई भिरबाट निकालेर ल्याउन चुनौतीपूर्ण बनेको छ ।