२४ घण्टामा लागुऔषधसहित २६ जना पक्राउ

काठमाडौँ, २ जेठ । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानबाट ठुलो परिमाणमा लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। काठमाडौँ, मोरङ, रूपन्देही, झापा, कैलाली, कञ्चनपुर, सुनसरी, धनकुटा र मकवानपुरका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँबाट १२ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा २३ वर्षीय अनिल केसी, ४४ वर्षीय बसन्त तिमल्सिना, ३७ वर्षीय बिक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली, ३५ वर्षीय देबेन्द्र अर्याल, ५० वर्षीय प्रशान्त राई र ४७ वर्षीय पेम्बा तामाङ रहेका छन्।

मोरङको पथरीशनिश्चरे नगरपालिका–८ बाट २ हजार २१० ट्याब्लेट ट्रामाडोल र २ हजार ३२० ट्याब्लेट स्पास्पेनसहित २४ वर्षीय सुशन राई पक्राउ परेका छन्। यस्तै, झापाको कनकाई नगरपालिकामा ११ ग्राम ९७० मिलिग्राम ब्राउन सुगरसहित २ जना र सुनसरीको इटहरीबाट १ जना समातिएका छन्।

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मा डेरा गरी बस्ने ४० वर्षीया बिष्णु याखाको साथबाट ९२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

कैलालीको गोदावरी र टीकापुरबाट खैरो हेरोइन सहित ९ जना पक्राउ परेका छन्। गोदावरीस्थित आर बी होटलका सञ्चालक ३६ वर्षीय तिलकबहादुर वलीसहित चार जना होटलबाटै समातिएका हुन्। कञ्चनपुरको कृष्णपुरबाट ३ जना र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट ४८० ट्याब्लेट स्पास्मोसहित ३३ वर्षीय बर्कत अली पक्राउ परेका छन्।

यस्तै, मकवानपुरको हेटौँडा–१० बसपार्कबाट २१ किलो ३१० ग्राम गाँजासहित पर्साका ६० वर्षीय लक्चन हजरालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान अघि बढाएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।