अमेरिका–इरान शान्ति वार्ता ब्युँताउन पाकिस्तानको सक्रियता: गृहमन्त्री नक्वी तेहरानमा, इरानको आफ्नै सर्त

तेहरान, २ जेठ । अमेरिका र इरानबीच रोकिएको शान्ति वार्तालाई पुनः सुचारु गराउन पाकिस्तानले कुटनीतिक सक्रियता बढाएको छ। यसै सिलसिलामा पाकिस्तानका आन्तरिक मामिला (गृह) मन्त्री मोहसिन नक्वी शनिबार दुई दिने औपचारिक भ्रमणका लागि इरानी राजधानी तेहरान आइपुग्नुभएको छ।

इरानी समाचार संस्था ‘तस्निम’का अनुसार, क्षेत्रीय शान्ति प्रवर्द्धन गर्ने पाकिस्तानको जारी प्रयासको एक हिस्सा स्वरूप मन्त्री नक्वी तेहरान आउनुभएको हो। पाकिस्तानका प्रभावशाली सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरले तेहरानको भ्रमण गरेको केही दिनमै गृहमन्त्री नक्वीको यो भ्रमण भएको हो। उहाँलाई तेहरानमा इरानी गृहमन्त्री इस्कान्दर मोमेनीले स्वागत गर्नुभएको थियो।

इस्लामावादले इरान र अमेरिकाबीचको शान्ति वार्तामा सक्रिय मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। गत महिना मात्रै पाकिस्तानले दुवै पक्षका प्रतिनिधिहरूबीच एक उच्चस्तरीय गोप्य बैठकको आयोजना गरेको थियो। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अप्रिल ८ मा भएको युद्धविरामपछि केही मत्थर भएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनबाट तेहरानलाई एक महत्वपूर्ण सन्देश प्राप्त भएको खुलासा गर्नुभएको छ। उहाँका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन इरानसँग वार्ताका लागि इच्छुक रहेको सङ्केत प्राप्त भएको छ।

यद्यपि, इरानले भने वार्ताका लागि कडा सर्त अघि सारेको छ। इरानी संसद्का सभामुख एवं प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले वासिङ्टनले इरानको ‘१४ बुँदे प्रस्ताव’ स्वीकार गर्नुपर्ने अडान राख्नुभएको छ।

“वासिङ्टनले तेहरानको शान्ति प्रस्तावलाई स्वीकार गर्नुपर्छ, नत्र शान्ति वार्ता भङ्ग हुनेछ,” गालिबाफले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हाम्रो १४ बुँदे प्रस्तावमा उल्लेख भएअनुसार इरानी जनताको अधिकार सुनिश्चित हुनुपर्छ, अन्यथा कुनै पनि सम्झौता स्वीकार्य हुने छैन।”

अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानको यो मध्यस्थता प्रयासलाई निकै चासोका साथ हेरेको छ। यो वार्ता सफल भएमा मध्यपूर्वमा जारी तनाव कम हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *