थानकोटमा घरायसी विवादले लियो उग्र रूप: भिनाजुद्वारा चक्कु प्रहार गरी सालोको हत्या
काठमाडौँ, ३ जेठ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने २५ वर्षीय जाकिर मन्सुरीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराति उनीहरूबीच घरायसी विषयमा विवाद भएको थियो । सोही क्रममा अहमदले तरकारी काट्ने चक्कुले मन्सुरीमाथि प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनालगत्तै प्रहरी वृत्त थानकोटको टोलीले चक्कु प्रहार गर्ने समी अहमदलाई नियन्त्रणमा लिएको छ । मृतकको शवलाई कानुनी प्रक्रिया र जाँच मुचुल्कापछि पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।