कङ्गोमा इबोलाको भीषण प्रकोप: ८८ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘स्वास्थ्य आपतकाल’ घोषणा
एजेन्सी, ३ जेठ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ‘अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । यो घातक रोगका कारण हालसम्म ८८ जनाको ज्यान गइसकेको छ भने अवस्था नियन्त्रण बाहिर जान थालेको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म ८८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अन्य ३३६ जनामा संक्रमणको कडा शंका गरिएको छ । कङ्गोका स्वास्थ्य मन्त्रीले यो प्रजातिको इबोलाका लागि हालसम्म कुनै प्रभावकारी खोप उपलब्ध नभएको जानकारी दिनुभएको छ । यस रोगको मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
यो प्रकोप कङ्गोको इटुरी क्षेत्रबाट सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानको सिमानासँग जोडिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार एक स्वास्थ्यकर्मीमा पहिलोपटक यो संक्रमण देखिएको थियो, जसले अहिले महामारीको रूप लिएको छ ।
स्थानीय बासिन्दाहरूले अस्पतालहरूमा पर्याप्त आइसोलेसन वार्ड र उपचार केन्द्र नभएको गुनासो गरेका छन् । उचित उपचार र हेरचाहको अभावमा बिरामीहरूको घरमै मृत्यु भइरहेको छ । घरमै मृत्यु हुँदा मृतकको सम्पर्कमा आउने परिवारका सदस्य र छिमेकीहरूमा संक्रमण सर्ने जोखिम झन् उच्च भएको बताइएको छ ।
स्थिति भयावह बनेपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य सहायता संस्थाहरूले ठूलो परिमाणमा औषधि, उपचार उपकरण र विशेषज्ञ टोली कङ्गो पठाउने तयारी गरिरहेका छन् । डब्ल्यूएचओले यो संक्रमण सीमा पार गरेर अन्य मुलुकमा समेत फैलिन सक्ने भन्दै छिमेकी देशहरूलाई समेत विशेष निगरानी बढाउन सुझाव दिएको छ ।