कोरला नाकाबाट भन्सार छलेर ल्याइएको झण्डै छ सय कार्टुन ‘भेप’ बरामद, दुई चालक पक्राउ

मुस्ताङ, ३ जेठ । नेपाल–चीन सीमास्थित मुस्ताङको कोरला नाकाबाट ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ । लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार साँझ ५९२ कार्टुन भेप नियन्त्रणमा लिएको हो ।
भन्सार छलेर लुकाईछिपाई ल्याइँदै गरेका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका दुई वटा मालवाहक कन्टेनरलाई खानतलासी गर्दा उक्त परिमाणको विद्युतीय चुरोट फेला परेको भन्सार कार्यालयले जनाएको छ ।

शनिबार सार्वजनिक बिदा र लोमान्थाङमा जारी तिजी पर्व हेर्न भन्सारका कर्मचारीहरू गएको मौका छोपी तस्करहरूले कन्टेनर भन्सार छलाएर लैजान खोजेका थिए । तर, अवैध सामान भित्रिएको गोप्य सूचना पाएपछि भन्सार कार्यालय र सुरक्षा निकायको टोलीले ती कन्टेनरहरूलाई बाटोमै नियन्त्रणमा लिएको थियो ।

भन्सार कार्यालयका अनुसार बरामद गरिएको एक कार्टुनमा २२० वटा भेप रहेका छन् । यस आधारमा दुई वटा कन्टेनरमा गरी करिब एक लाख २० हजार थानभन्दा बढी विद्युतीय चुरोट रहेको प्रारम्भिक अनुमान छ । अहिले स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको रोहवरमा बरामद सामानको मुचुल्का उठाउने कार्य भइरहेको छ ।

अवैध ओसारपसारमा संलग्न रहेको आरोपमा कन्टेनरका चालकहरू सन्तोष लामा र फोन्तोज धोर्जेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार पक्राउ परेका चालकहरूमाथि थप अनुसन्धान सुरु गरिएको छ ।

स्रोतका अनुसार तस्करीमा संलग्न गिरोहले प्रहरी र सशस्त्र प्रहरीलाई छक्याउन नक्कली कागजात समेत तयार पारेको पाइएको छ ।
कोरला नाका : भेप तस्करीको ‘ट्रान्जिट’
कोरला नाकाबाट पछिल्लो समय विद्युतीय चुरोटको तस्करी बढ्दै गएको तथ्याङ्कले देखाउँछ । यसअघि चालु आर्थिक वर्षको पुस ९ गते पनि सोही नाकाबाट दुई करोड २४ लाख रुपैयाँ बराबरको १६ हजार थान भेप बरामद भएको थियो । त्यस्तै, गत वर्ष पनि छ करोड ८१ लाख रुपैयाँ बराबरको भेप भन्सार र सुरक्षा टोलीले बरामद गरेको थियो ।

बारम्बार ठूलो परिमाणमा भेप बरामद हुन थालेपछि भन्सार प्रशासन र सुरक्षा निकायले नाकामा निगरानी थप कडा पारेको जनाएका छन् ।