ललितपुरमा नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ
ललितपुर, ६ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सञ्चालित एक नक्कली मदिरा कारखानामा सशस्त्र प्रहरीले छापा मारेको छ । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा गरिएको उक्त कारबाहीमा ठूलो परिमाणमा नक्कली मदिरासहित चार जनालाई नियन्त्रणमा लिइएको हाे ।
चाँगाथलीस्थित विर्खबहादुर तामाङको घरमा अवैध रूपमा कारखाना सञ्चालन गरी रेड लेबल, ब्ल्याक लेबल लगायतका महंगा विदेशी ब्राण्डका नक्कली मदिरा तयार पार्ने गरिएको फेला परेको हो ।
पक्राउ पर्नेहरूमा नक्कली मदिरा उत्पादनमा संलग्न रहेको आरोपमा प्रहरीले निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ:
१. मनोज खत्री (३० वर्ष), खाँडादेवी–२, रामेछाप ।
२. विनोद तामाङ (२८ वर्ष), खिम्ती, रामेछाप ।
३. विवेक तामाङ (२६ वर्ष), खिम्ती, रामेछाप ।
४. छिदेन निमा तामाङ (२२ वर्ष), बाह्रबिसे–६, सिन्धुपाल्चोक ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार छापा मार्ने क्रममा ठूलो परिमाणमा रेड र ब्ल्याक लेबलका तयारी मदिराहरू बरामद गरिएको छ । यसका साथै मदिरा बनाउन प्रयोग गरिने विभिन्न केमिकल, उपकरण, राजश्व विभागको नक्कली स्टिकर र होलोग्राम समेत फेला परेको छ ।
बरामद गरिएको मदिराको परिमाण निकै धेरै भएकाले अहिले त्यसको यकिन विवरण सङ्कलन गर्ने र मुचुल्का उठाउने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ । महँगो ब्राण्डको बोतलमा कमसल मदिरा भरेर बजारमा पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।