इन्द्रावतीको चण्डेश्वरी माविमा लायन्स क्लब अफ काठमाडौँ शुभ ताराको सहयोगमा ३३२ विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री वितरण
सिन्धुपाल्चोक, ६ जेठ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। समाजसेवी मोहन बहादुर गिरीको समन्वयमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
लायन्स क्लब अफ काठमाडौँ शुभ ताराको सहयोगमा विद्यालयका ३३२ जना विद्यार्थीहरूलाई ट्रयाकसुट, स्कुल ब्याग, शैक्षिक सामग्री, पानीको बोतल र खेलकुदका सामग्रीहरू वितरण गरिएको हो।
सामग्री वितरणका लागि लायन्स क्लब अफ काठमाडौँ शुभ ताराका संस्थापक अध्यक्ष राजेश दास हिमालयको नेतृत्वमा एक टोली विद्यालय पुगेको थियो। टोलीमा क्लबकी प्रथम उपाध्यक्ष सुशिला श्रेष्ठ, सचिव आदित्य जोशी, द्वितीय उपाध्यक्ष चण्डिका श्रेष्ठ तथा सदस्यहरू अमृत घले, रमिला प्रधान, मधुकर श्रेष्ठ र रजनी श्रेष्ठको सहभागिता रहेको थियो।
स्थानीय जनप्रतिनिधिहरू वडा अध्यक्षहरू श्याम बहादुर गिरी, रामजी माझी र रामचन्द्र घिमिरेको रोहवरमा उक्त सामग्रीहरू विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको थियो।
समाजसेवी मोहन बहादुर गिरीले विद्यार्थीहरूको उज्ज्वल भविष्य र शैक्षिक गुणस्तर सुधारका लागि यस्ता सहयोगले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालय परिवार र अभिभावकहरूले समाजसेवी गिरी र लायन्स क्लबलाई यो मानवीय सहयोगका लागि आभार प्रकट गरेका छन्। सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू निकै हर्षित देखिएका थिए।