‘संसद्प्रति सरकार जवाफदेही भएन, मन्त्रीहरूलाई सदनमा अनिवार्य उपस्थित गराउन रुलिङ गरियोस्’ : हर्क साम्पाङ

काठमाडौँ, ६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकार संसद् र जनताप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा कडा आक्रोश व्यक्त गर्नुभएको छ ।

बुधबारको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री र मन्त्रीहरू महत्त्वपूर्ण छलफलका क्रममा सदनमा अनुपस्थित हुने गरेको भन्दै सभामुखसँग कडा ‘रुलिङ’को माग गर्नुभयो ।

सांसद साम्पाङले आफूहरूले उठाएका प्रश्न व्यक्तिगत नभई जनताका साझा सरोकारका विषय भएको उल्लेख गर्नुभयो । उहाँले सीमा समस्या, बढ्दो महँगी नियन्त्रण, सहकारी पीडितलाई रकम फिर्ता गर्ने भनिएको पैसाको स्रोतको पारदर्शिता र सुकुमबासी व्यवस्थापन जस्ता गम्भीर विषयमा सम्बन्धित मन्त्रीहरूलाई प्रश्न गर्न चाहेको बताउनुभयो ।

“हामीले बारम्बार प्रश्न उठाएका छौँ, तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै आउनुहुन्न,” साम्पाङले भन्नुभयो, “नीति तथा कार्यक्रम प्रस्तुत गर्दा होस् वा महत्त्वपूर्ण छलफलमा, मन्त्रीहरूको उपस्थिति नहुनु कर्तव्यबाट भाग्ने प्रवृत्ति हो ।”

उहाँले प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ को कार्यान्वयन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *