हर्मुजबाट चिनियाँ जहाज बाहिरिएपछि अमेरिका–इरान युद्ध अन्त्य हुने आशा, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घट्यो
वासिङ्टन, ७ जेठ । सामरिक महत्त्वको जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’बाट तेल बोकेका दुईवटा चिनियाँ पानीजहाज बुधबार सफलतापूर्वक बाहिरिएसँगै अमेरिका र इरानबीच जारी युद्ध छिट्टै अन्त्य हुन सक्ने आशा पलाएको छ। यस सकारात्मक सङ्केतका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत उल्लेख्य गिरावट आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार मात्रै युद्ध ‘धेरै चाँडै’ समाप्त हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो। यस्तै, उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँगको वार्तामा प्रगति भइरहेको जानकारी दिनुभएको छ। रोयटर्सका अनुसार इराकी तेल बोकेका चिनियाँ जहाजहरू हर्मुजबाट निस्कनुलाई कूटनीतिक सफलताको रूपमा हेरिएको छ।
राष्ट्रपति ट्रम्पले इरानमाथि गर्ने भनिएको पूर्वयोजनाबद्ध सैन्य आक्रमण साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूको विशेष अनुरोधमा रोकेको खुलासा गर्नुभएको छ। “म आक्रमणको अन्तिम निर्णय लिनुभन्दा मात्र एक घण्टा टाढा थिएँ,” ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भन्नुभयो, “तर कतारका अमिर, साउदी क्राउन प्रिन्स र युएईका राष्ट्रपतिले वार्तालाई अर्को मौका दिन आग्रह गरेपछि मैले सैन्य कदम रोक्ने निर्णय गरेँ।”
इरानले हालै अमेरिकालाई एक परिमार्जित शान्ति प्रस्ताव पठाएको छ। यद्यपि ट्रम्पले सो प्रस्ताव अझै ‘अपर्याप्त’ रहेको टिप्पणी गर्नुभएको छ। उहाँले इरानले अझ राम्रो प्रस्ताव नल्याए पहिलेभन्दा कडा प्रहार गर्ने चेतावनी समेत दिनुभएको छ।
विश्वको करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत ग्यास ओसारपसार हुने ‘स्ट्रेट अफ हर्मुज’ युद्धका कारण बन्द हुँदा विश्व अर्थतन्त्र नै सङ्कटमा परेको थियो। सुरुमा इरानले यो मार्ग बन्द गरी महँगो शुल्क लिएर केही जहाज छोड्ने गरेको थियो भने पाकिस्तानमा भएको वार्ता असफल भएपछि अप्रिल १३ देखि अमेरिकाले पनि इरानी तेल निर्यातमा कडा नाकाबन्दी लगाएको थियो।
अहिले हर्मुजबाट जहाजहरू बाहिरिन थाल्नुले आपूर्ति सहज हुने र तेलको मूल्य अझै घट्ने प्रक्षेपण गरिएको छ। यदि वार्ता सफल भएर युद्ध अन्त्य भएमा विश्व बजारमा इन्धनको मूल्य स्थिर हुने र आर्थिक मन्दीको जोखिम टर्ने विश्वास लिइएको छ।