दाङको तुलसीपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, प्रेमीसहित दुई पक्राउ

दाङ, १० जेठ । दाङको तुलसीपुरमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय राजेन्द्र चौधरी (सुमन) पक्राउ परेका हुन्। घटनामा संलग्न अर्का एक व्यक्ति भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका ओम चौधरी र पीडित किशोरीबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। गत जेठ ५ गते राति करिब ९:०० बजे चौधरीले ती किशोरीलाई भेट्न भन्दै बोलाएका थिए। प्रेमीले बोलाएपछि पुगेकी किशोरीमाथि चौधरी र उनका अन्य दुई साथीहरूले मिलेर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

पीडित किशोरीले घटनाको भोलिपल्टै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन्। जाहेरी परेलगतै खटिएको प्रहरी टोलीले दुई आरोपितलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) दीपक श्रेष्ठका अनुसार पक्राउ परेकाहरूमाथि जबरजस्ती करणी मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनाको प्रकृति र संलग्नताका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।