कोरिया जान नपाएका युवाहरूको माइतीघरमा प्रदर्शन, रोष्टर अवधि बढाउन माग

काठमाडौँ, १२ जेठ । दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा र आवश्यक प्रक्रिया पूरा गरेर पनि जान नपाएका युवाहरूले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत छनोट भएर पनि लामो समयदेखि प्रतिक्षामा रहेका पीडित युवाहरू सरकारको उदासिनता विरुद्ध सडकमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले ‘पास गरेकालाई कोरिया पठाऊ’, ‘रोजगारको अधिकार सुनिश्चित गर’ र ‘रोष्टरको अवधि थप गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। यसअघि उनीहरूले ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालय अगाडि पटक–पटक धर्ना र प्रदर्शन गर्दै आएका थिए।

हाल करिब १२ हजार युवाहरू कोरियन भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने ‘रोष्टर’ (प्रतिक्षा सूची) मा रहेका छन्। ईपीएसको नियमअनुसार रोष्टरको अवधि दुई वर्षको हुन्छ। तर, लामो समयसम्म पनि कोरिया लैजाने प्रक्रिया अघि नबढ्दा धेरै युवाहरूको रोष्टर अवधि समाप्त भइसकेको छ भने कतिपयको सकिने अवस्थामा छ।

रोष्टर अवधि सकिएपछि पुनः शून्यबाटै परीक्षा दिनुपर्ने प्रावधानका कारण आफ्नो मेहेनत र लगानी खेर जाने भन्दै उनीहरू चिन्तित बनेका छन्। “हामीले सबै प्रक्रिया पूरा गर्दा पनि सरकारले कूटनीतिक पहल नगरेका कारण हाम्रो भविष्य अन्धकार भएको छ,” एक प्रदर्शनकारीले गुनासो गरे।

पीडित युवाहरूले रोष्टरमा रहेका सबै योग्य उम्मेदवारलाई रोजगारीका लागि कोरिया पठाउने ग्यारेन्टी गर्न र विशेष परिस्थिति भन्दै रोष्टरको अवधि बढाउन सरकारसँग जोडदार माग गरेका छन्। सरकारले ठोस निर्णय नलिएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ।