नागरिकता कीर्ते प्रकरण : वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

 

वीरगञ्ज, , १२ जेठ ।  वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। अर्कैको छोरीलाई आफ्नो छोरी बनाएर झुठो विवरणका आधारमा नागरिकता दिलाएको (लिखत सम्बन्धी कसुर) अभियोगमा जिल्ला अदालत पर्साले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर मल्लिकले मेयर सिंहविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको पुष्टि गरे। उनका अनुसार सिंहविरुद्ध विभिन्न चार वटा मुद्दा दर्ता भए पनि हाललाई लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गर्ने अनुमति दिइएको हो। अदालतले लिखत सम्बन्धी कसुरको अनुसूची (२२) बमोजिम पुर्जी जारी गरेको जनाएको छ।

वीरगञ्जका स्थानीय लियाकत अलीले मेयर सिंहविरुद्ध जाहेरी दिएका थिए। सिंहले नक्कली कागजात खडा गरी अरूको छोरीलाई आफ्नै छोरी दाबी गर्दै नागरिकता जारी गराएको जाहेरीमा उल्लेख छ। सोही जाहेरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दै अदालतले उनलाई नियन्त्रणमा लिन प्रहरीलाई बाटो खोलेको हो।

यो सँगै प्रहरीलाई मेयर सिंहलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाउन कानुनी अधिकार प्राप्त भएको छ। सिंह २०७९ को स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *