रेश्मिका हत्या प्रकरणमा उच्च अदालतको आदेशपछि थप तीन युवा पक्राउ

खोटाङ, १३ जेठ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। उच्च अदालत ओखलढुङ्गाको आदेशका आधारमा मंगलबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र बतासेकै अर्का युवा दीपक राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार अदालतको आदेशपछि उनीहरूमाथि सूक्ष्म अनुसन्धान सुरु गरिएको छ।

गत भदौ ३० गते राति रेश्मिका मृत अवस्थामा फेला परेकी थिइन्। सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै १६ वर्षीय एक किशोरलाई असोज १ गते पक्राउ गरिसकेको थियो। ती किशोर हाल अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा छन्।
यद्यपि, घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको भन्दै मृतकका परिवारले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। परिवारका सदस्यले गत चैत २१ गते उच्च अदालत ओखलढुङ्गामा तीन जनाको नाम किटानी गरी जाहेरी दर्ता गराएका थिए। सोही जाहेरीका आधारमा अदालतले चैत २८ गते घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो।

अदालतको आदेश र परिवारको किटानी जाहेरीपछि भएको यो पछिल्लो गिरफ्तारीले रेश्मिका हत्या प्रकरणमा नयाँ मोड ल्याएको छ। प्रहरीले पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *