लागूऔषध मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने प्रहरी वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लागूऔषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाएर सेवाग्राहीबाट घुस लिने एक प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

लागूऔषधको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको कास्की (पोखरा) स्थित कार्यालयबाट खटिएको टोलीले उनलाई केही समयअघि रङ्गेहात पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा वरिष्ठ हवल्दार थापाले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा अगाडि बढाएको हो।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार, पक्राउ परेका आरोपी थापाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार ५० हजार रुपैयाँ नै बिगो कायम गरिएको छ। आयोगले सोही बिगोबमोजिम जरिवाना र कानुनअनुसार कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *