भदौ २४ को हिंसा ‘पूर्वनियोजित र सङ्गठित अपराध’ : मानव अधिकार आयोग
काठमाडौँ, १३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २४ गते देशैभर भएका हिंसात्मक घटनाहरूलाई ‘पूर्वनियोजित र सङ्गठित आपराधिक गतिविधि’ को संज्ञा दिएको छ । आयोगले बुधबार सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा उक्त दिनका घटनाहरूलाई केवल आन्दोलनको आक्रोश मात्र नभई योजनाबद्ध रूपमा गरिएको अपराधका रूपमा हेर्न सरकारलाई सिफारिस गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ, “भदौ २४ गतेका घटनाहरू २३ गतेको भिडबाट प्रभावित भएर सुरु भएको देखिए तापनि, देशभर एकै समयमा र एकै किसिमको उद्देश्यका साथ भएकाले यसमा अगाडिदेखि नै गरिएको पूर्वयोजना देखिन्छ । त्यसैले यसलाई सङ्गठित रूपमा गरिएको आपराधिक कार्यका रूपमा सम्बोधन गरिनुपर्छ ।”
आयोगले उक्त दिन भएका गम्भीर मानव अधिकार उल्लङ्घन र हिंसाका घटनाहरूलाई बुँदागत रूपमा प्रस्तुत गरेको छ:
प्रहरीको हत्या: प्रदर्शनकारीको कुटपिटबाट नेपाल प्रहरीका तीन जना सुरक्षाकर्मीको मृत्यु ।
आगजनी र मृत्यु: आन्दोलनकारीले गरेको आगजनीमा परी २१ जनाको मृत्यु भएको, जसमध्ये १२ जनाको अझै सनाखत हुन नसकेको ।
साङ्घातिक हमला: सुरक्षाकर्मी, राजनीतिक नेता तथा कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरी घाइते बनाइएको ।
गम्भीर घाइते: प्राध्यापक रविलक्ष्मी चित्रकार लगायत कयौँ नागरिक आगजनीमा परी जलेर गम्भीर घाइते भएको ।
अरबौँको क्षति: देशैभर सरकारी तथा निजी भौतिक संरचनामा अर्बौँ रुपैयाँ बराबरको तोडफोड र आगजनी भएको ।
आयोगले यी घटनाहरूलाई साधारण विरोध प्रदर्शनका रूपमा मात्र लिन नमिल्ने ठहर गर्दै ‘सङ्गठित अपराध’ को रूपमा अनुसन्धान गरी दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । यो प्रतिवेदन सार्वजनिक भएसँगै भदौ २४ को घटनाको दोषी पहिचान र कानुनी कारबाहीको माग पुनः जोडदार रूपमा उठ्ने देखिएको छ ।