रोमानियामा खस्यो रुसी ड्रोन, हवाई सुरक्षा सुदृढ बनाउन माग

एजेन्सी, १५ जेठ । युक्रेन युद्धको प्रत्यक्ष असर उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ। युक्रेनमाथिको भीषण रुसी हवाई आक्रमणका क्रममा एउटा रुसी ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना सर्वसाधारण घाइते भएका छन्। यस घटनापछि रोमानियाले नाटोसँग थप एन्टि–ड्रोन सुरक्षा प्रणाली तत्काल उपलब्ध गराउन माग गरेको छ।

रोमानियाको रक्षा मन्त्रालयका अनुसार उक्त ड्रोनलाई देशको हवाई क्षेत्रमा राडारमार्फत निगरानी भइरहेकै अवस्थामा पूर्वी सहर गलाटीस्थित एउटा अपार्टमेन्ट भवनको छतमा खसेको थियो। ड्रोन खसेपछि भवनमा आगलागी भएको थियो। सो घटनामा दुई जना सामान्य घाइते भएका छन् भने भवनका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सारिएको छ। डेन्यूब नदी किनारमा रहेको गलाटी सहर मोल्दोभा र युक्रेन सीमा नजिक पर्छ।

ड्रोन प्रवेश गरेसँगै रोमानियाली सेनाले दुई वटा एफ–१६ लडाकू विमान र एउटा हेलिकप्टर परिचालन गरेको थियो। रोमानियाको विदेश मन्त्रालयले यस घटनालाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भन्दै नाटो गठबन्धनको हवाई सुरक्षा मजबुत बनाउन तथा एन्टि–ड्रोन प्रणालीको तीव्र आपूर्ति सुनिश्चित गर्न माग गरेको छ।

यता युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले घना बस्ती भएको युरोपेली भूभागमा रुसी सैन्य सामग्री खस्नुले ‘रुसको युद्धले अर्को सीमा पार गरेको’ पुष्टि गरेको बताउनुभयो। उहाँले पूर्वी सीमाको सुरक्षा सुदृढ बनाउनुका साथै युरोपेली सङ्घ (इयु) ले रुसविरुद्ध नयाँ प्रतिबन्ध प्याकेजको तयारी गरिरहेको जानकारी दिनुभयो।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण अमेरिकी हतियार भण्डार अन्यत्र मोडिएपछि युक्रेनका लागि आवश्यक हवाई प्रतिरक्षा प्रणाली (प्याट्रियट) को आपूर्ति खतरनाक रूपमा घट्दै गएको चेतावनी दिनुभएको छ।

अर्कोतर्फ, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि युद्ध नियन्त्रणबाहिर जाने जोखिम बढेको भन्दै सुरक्षा परिषद्लाई सचेत गराउनुभएको छ। उहाँले यस वर्षको पहिलो चार महिनामा विगत तीन वर्षको सोही अवधिको तुलनामा बढी सर्वसाधारणको ज्यान गएको उल्लेख गर्दै तत्काल कूटनीतिक पहल र बिनासर्त युद्धविराम लागू गर्न आह्वान गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *