‘पार्टी जागरण अभियान’ सुरु गर्ने योजना सहितको एमाले अपानी, कस्लाई के जेम्मेवारी ? (पूर्णपाठ)

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) ले यहि जेठ ४ गतेदेखि चार दिनसम्म बसेको सचिवालय बैठकबाट गरेका निर्णयहरुसहितको अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अपानी जारी गर्नुभएको हो । बैठकले स्थानीय तह चुनावकेन्द्रित ‘पार्टी जागरण अभियान’ सुरू गर्ने निर्णय गरेको थियो । अपानीमा त्यसका लागि कार्ययोजना र नेताहरुको जिम्मेवारी तोकेको छ । यस अभियानमा केन्द्रीय सदस्यहरूलाई स्थानीय तहमा खटाउने अपानीमा उल्लेख छ ।

अपानीमा पार्टी केन्द्रीय सदस्यहरूलाई प्रदेश, जिल्ला तहका कमिटी र पार्टी सम्बद्ध जनसंगठनमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। विभागीय कामको सन्दर्भमा विगतकै जस्तो संयोजन र विभागीय प्रमुखको व्यवस्था गरिएको छ। केन्द्रीय पदाधिकारी बाहेकका सबैलाई स्थानीय चुनावलक्षित पालिकाकेन्द्रित कार्यविभाजन गरिएको छ।
अपानीमा अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी कामको नेतृत्व गर्ने कार्यविभाजन तोकिएको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सुशासन र सेवा प्रवाह सम्बद्ध विभागहरूको संयोजन गर्ने उल्लेख छ भने उपाध्यक्ष विष्णु पौडेललाई पार्टी सम्बद्ध विभागहरुको संयोजन, पृथ्वीसुब्बा गुरूङले सामाजिक विकास सम्बद्ध विभागहरू, गोकर्ण विष्टले पूर्वाधार विकास सम्बद्ध विभागहरू, रघुजी पन्तले मानवश्रोत सम्बद्ध विभागहरू तोकिएको छ । महासचिव शंकर पोखरेललाई पार्टीको संगठनात्मक कामको संयोजन गर्ने र केन्द्रीय कार्यालयको प्रमुखको काम गर्ने जिम्मेवारी तोकिएको छ।

त्यस्तै उपमहासचिव लेखराज भट्टले समग्र प्रवास, योगेश भट्टराईले नीति तथा योजना सम्बद्ध विभागहरू र रघुवीर महासेठले कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको संयोजन गर्ने कार्यविभाजनमा उल्लेख छ।

सचिव छविलाल विश्वकर्मा लुम्बिनी प्रदेश इन्चार्ज, पद्मा अर्याल संसदीय मामला विभाग प्रमुख, खगराज अधिकारी गण्डकी प्रदेश इन्चार्ज, भानुभक्त ढकाल संगठन विभाग प्रमुख, यामलाल कँडेल कर्णाली प्रदेश इन्चार्ज, शेरधन राई कोशी प्रदेश इन्चार्ज, राजन भट्टराई राजधानी विशेष प्रदेश इन्चार्ज, हिक्मत कार्की विपद व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख, र महेश बस्नेत बागमती प्रदेश इन्चार्ज तोकिएका छन्।