युफोरिया’मा सिड्नी स्विनीको उत्तेजक भूमिका: चर्चा बढे पनि गम्भीर कलाकारको रूपमा स्थापित हुन चुनौती

 

लस एन्जलस (एजेन्सी), १५, जेष्ठ । चर्चित अमेरिकी टेलिभिजन सिरिज ‘युफोरिया’ मार्फत रातारात चर्चित बनेकी अभिनेत्री सिड्नी स्विनी हाल हलिउडकी सबैभन्दा सफल युवा स्टारमध्ये एक हुन् । तर, उनलाई चर्चाको शिखरमा पुर्‍याएको त्यही ‘उत्तेजक छवि’ ले भविष्यमा उनको गम्भीर कलाकारितामाथि प्रश्न उठाउन सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन् ।

गत अप्रिल १२ मा प्रिमियर भएको ‘युफोरिया’को तेस्रो सिजनमा स्विनीको अभिनयलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निकै चर्चा भइरहेको छ । सन् २०१९ मा सुरु भएको यो अवार्ड विजेता एचबीओ  शोको यो अन्तिम सिजन हो ।

विज्ञहरूको चिन्ता: कलाकारिता कि केवल शारीरिक प्रदर्शन?
संकट तथा प्रतिष्ठा व्यवस्थापन विज्ञ डेभ क्वास्टले फक्स न्युज डिजिटलसँग कुरा गर्दै भनेका छन्, “युफोरियाले सिड्नीलाई एक निडर कलाकारको रूपमा स्थापित त गर्‍यो, तर जोखिम के छ भने जब जनसंवाद उनको अभिनय भन्दा बढी भूमिकाको यौनिक पक्षमा केन्द्रित हुन्छ, तब उनको ‘ब्रान्ड’ साँघुरिन सक्छ ।”

क्वास्टका अनुसार पर्दामा यौनिकता देखिनु आफैमा नराम्रो कुरा होइन, तर जब यो नै कलाकारको मुख्य पहिचान बन्न पुग्छ, तब समस्या सुरु हुन्छ । स्विनीका लागि मुख्य चुनौती भनेको ती भूमिकाहरूलाई ‘चरित्रको छनोट’ का रूपमा देखाउनु हो, न कि उनको सम्पूर्ण करियरको आधार ।

प्रशंसकहरूको आक्रोश: “सिड्नीको अपमान भयो”
सिरिजको तेस्रो सिजनमा स्विनीले निर्वाह गरेको ‘क्यासी’  को भूमिकालाई लिएर दर्शकहरूले निर्माण पक्षको आलोचना गरेका छन् । यस सिजनमा उनको चरित्रलाई ‘ओन्ली फ्यान्स’  र अत्यधिक यौनजन्य सामग्रीसँग जोडिएको छ । सामाजिक सञ्जाल ‘एक्स’ (X) मा कतिपय प्रशंसकहरूले यो भूमिका स्विनीका लागि ‘अपमानजनक’ भएको बताएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, “तेस्रो सिजनमा सिड्नी स्विनीको भूमिकाले उनलाई अपमानित मात्र गरिरहेको छ । उनलाई बच्चाको लुगा लगाइदिने र चुस्नी मुखमा राखिदिने जस्ता दृश्यहरू किन राखिएका छन् ? यस्ता भूमिकाले उनलाई कुनै अवार्ड दिलाउने छैनन् ।”

छोटो समयको फाइदा र दीर्घकालीन जोखिम
प्रचारप्रसार र चर्चालाई व्यापारिक दृष्टिकोणबाट हेर्दा स्विनीलाई अहिले फाइदा पुगेको विज्ञहरू स्वीकार गर्छन् । एडिक्यू स्ट्राटेजीजका संस्थापक क्वास्ट भन्छन्, “अहिलेको समयमा चर्चा नै शक्ति हो । स्विनी यस्ती अभिनेत्री बनेकी छिन् जसले जे गरे पनि चर्चा सुरु हुन्छ, जसको ठूलो व्यापारिक मूल्य छ ।”

यद्यपि, अर्की विज्ञ केल्सी किन्टनरका अनुसार निरन्तरको यस्तो चर्चाले दीर्घकालीन विश्वसनीयता प्रदान गर्दैन । उनले भनिन्, “यदि हरेक हेडलाइन उनको शरीर र उत्तेजक दृश्यको बारेमा मात्र भयो भने, मानिसहरूलाई उनको वास्तविक प्रतिभा देख्न गाह्रो हुन्छ । प्रविधि र सामाजिक सञ्जालको जमानामा उत्तेजक दृश्यहरू चाँडो भाइरल हुन्छन्, तर यसले कलाकारलाई चाहिने सम्मान र लामो आयु सधैँ दिँदैन ।”

प्रतिभा र पहिचानको सन्तुलन
स्विनीले हालैका दिनमा ‘द हाउसमेड’, ‘क्रिस्टी’, ‘अमेकिराना’ र ‘इम्याकुलेट’ जस्ता गम्भीर फिल्महरूमा पनि काम गरेकी छिन्, जहाँ उनको अभिनयको प्रशंसा भएको छ । तर, ‘युफोरिया’ को प्रभाव यति बलियो छ कि यसले उनका अन्य राम्रा कामहरूलाई छायामा पारिदिने डर रहेको किन्टनर बताउँछिन् ।

विज्ञहरूका अनुसार सिड्नी स्विनी अहिले एक संवेदनशील मोडमा छिन् । उनले आफ्नो यौनिक छविलाई मात्र नबेचेर बौद्धिक र भावनात्मक रूपमा मजबुत भूमिकाहरूको छनोट गर्नुपर्ने सुझाव विज्ञहरूको छ । अबका केही वर्षमा उनले गर्ने फिल्मका छनोटले नै उनी हलिउडमा एक ‘सेब-इमेज’ मात्र बन्नेछिन् वा एक ‘दिग्गज अभिनेत्री’ को रूपमा स्थापित हुनेछिन् भन्ने तय गर्नेछ ।(स्रोत : फक्स न्यूज)

Leave a Reply

Your email address will not be published. Required fields are marked *