सहरको कोलाहलभित्र ओझेलिएका ‘अभिभावक’ हरूको मर्मस्पर्शी सुस्केरा
काठमाडौँ , जेठ १६ । बाहिरबाट हेर्दा काठमाडौँ सहरको जीवनशैली जति लोभलाग्दो देखिन्छ, सहरभित्रको सामाजिक अन्तरघुलन र आत्मीयता भने उति नै उकुसमुकुसपूर्ण छ । यही जेठ १५ गते काभ्रेको पलाञ्चोक विजेश्वरी भवानीको दर्शनका लागि पुग्नुभएका वडा नं. ११ का आदरणीय ज्येष्ठ नागरिकज्यूहरूको अभिव्यक्ति र खुला ठाउँमा पुग्दा उहाँहरूको मुहारमा देखिएको त्यो स्वर्गीय खुसीले सहरको एउटा तितो सत्य उजागर गरिरहेको थियो ।
सहर र घरभित्र एक्लिँदै जानुभएका ७० वर्ष उमेर पुग्नुभएका १२५ जना पुज्य ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालयले तीर्थाटन गराउन पलाञ्चोक लगेको थियो । गाडीमा आफूजस्तै पाका उमेरका सहयात्रीहरू देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा र आफ्नै उमेरका साथीभाइहरूसँग सामूहिक भोजन ग्रहण गर्न पाउँदा उहाँहरूको अनुहारमा एउटा छुट्टै कान्ति र चमक देखिएको थियो ।
“सहरमा म मात्र एक्लो होइन रहेछु”
तीर्थाटनको यस पवित्र यात्रामा सहोदर दाजुभाइ ८७ वर्षीय हीरामान डंगोलज्यू र ८५ वर्षीय मचाम डंगोल एकैसाथ हुनुहुन्थ्यो । उहाँहरूले एकै ठाउँमा उभिएर आफ्ना अनुभव सुनाउँदै भन्नुभयो, “सहरमा म मात्र एक्लो होइन रहेछु, मजस्तै अरू पनि एक्लै हुनुहुँदो रहेछ भन्ने देख्न पाइयो । हामीजस्ता एक्ला-एक्लाहरूका बिचमा भेटघाट र भलाकुसारी गर्न पाउँदा त उमेर नै बढेको जस्तो महसुस भयो । मजस्तै बिरामी भएका अरू साथीहरू पनि हुनुहुँदो रहेछ भन्ने थाहा पाएपछि मलाई त बाँच्ने आत्मबल अझै बढेर आयो ।”
उहाँहरूसँगै यात्रामा रहनुभएका ७७ वर्षीय कन्हैयाराज श्रेष्ठले आफ्नो विगत सम्झिँदै गम्भीर भावमा भन्नुभयो, “म वन कार्यालयको उपमहानिर्देशक पदबाट सेवानिवृत्त भएको व्यक्ति हुँ । त्यस बेला पदको गरिमामा रहँदा मान्छे धरातलमा होइन, हावामा उडिरहेको हुँदो रहेछ । आफूलाई अरूभन्दा माथि सम्झिने, कसैलाई नगण्ने स्वभाव हुँदो रहेछ । तर अहिले सम्झँदा लाग्छ, ती सबै कुराहरू निरर्थक थिए । वडाले हामीजस्ता व्यक्तिहरूका लागि यस्तो कार्यक्रम आयोजना गरेर सामाजिकीकरणको अवसर जुराइदियो, यसले जीवनप्रति नयाँ ऊर्जा थपेको छ र सामाजिक दूरी घटाउन मद्दत गरेको छ ।”
मनका घाउ र सामाजिक सामीप्यताको भोक
८० वर्षीया रत्नेश्वरी श्रेष्ठ ‘गोर्खाली’ ले धेरै समयपछि यसरी बाहिर घुम्न पाउँदा परम आनन्दको अनुभूति भएको प्रतिक्रिया दिनुभयो । त्यस्तै ७० वर्षीया इन्द्रलक्ष्मी महर्जनले वडाबाट यस्तै कार्यक्रमहरू भइरहेमा मनभित्र लुकेका घाउहरू बिर्सन सहज हुने भाव व्यक्त गर्नुभयो । ७१ वर्षीया मीरा डंगोल महर्जन र ७५ वर्षीया हिरामाया महर्जनले आफ्ना अनुभव साट्दै भन्नुभयो, “मान्छेलाई सन्तोषसँग बाँच्न धनले मात्र पुग्दो रहेनछ, समाज र आफूजस्तै आत्मीय व्यक्तिहरूसँगको भेटघाट नै मुख्य कुरा रहेछ ।”
७४ वर्षीय गोपाल श्रेष्ठले तीर्थाटनको अनुभव सुनाउँदै भन्नुभयो, “हामी एकदमै पट्यारलाग्दो (मोनोटनस) जीवन बिताइरहेका थियौँ, आज खुब रमाइलो भयो । पुराना मित्रहरू भेट्न पाइयो, मनै हलुका भए जस्तो महसुस भइरहेछ, पीडाहरू पनि कम भए जस्तो लागेको छ ।”
घरमा बस्दा हुने दिक्दारी र महानगरपालिकाबाट कस्ता कार्यक्रमको अपेक्षा राख्नुहुन्छ भन्ने प्रश्नमा उहाँहरूले विनम्रतापूर्वक भन्नुभयो, “यसरी घुमाउन लैजाने कार्यक्रमहरू सधैँ भइरहनुपर्छ । हामीजस्ता अशक्तहरूका लागि औषधि किनिदिने र स्वास्थ्य जाँचका लागि अस्पतालसम्म लगिदिने सहाराको खाँचो छ, त्यो व्यवस्था मिलाइदिए हुन्थ्यो ।”
स्वयम् भावुक बन्नुभएका वडाध्यक्ष
ज्येष्ठ नागरिकज्यूहरूसँग अन्तरसंवाद गरिरहनुभएका महानगरपालिका भवन व्यवस्था समितिका संयोजक एवं वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, “घरमा ज्येष्ठ नागरिकहरू एक्लो जीवन बाँचिरहनुभएको छ । उहाँहरूका चाहना र रुचि-अरुचिका कुरा सुनिदिने कोही छैन । कतै घुम्न जान मन लागे पनि एक्लै जाने सामर्थ्य छैन र लैजाने फुर्सद कसैलाई छैन ।”
कुरा गर्दागर्दै आफैँ भक्कानिनुभएका ७६ वर्षीय तण्डुकारका आँखामा टलपल आँसु देखिए । भावुकता सम्हाल्दै उहाँले थप्नुभयो, “म पनि त यस्तै अवस्थामा छु । कोही परिवार भएर पनि एक्लो हुनुहुन्छ, कोही भने म जस्तै श्रीमती र छोराछोरी नभएर एक्लो हुनुहुन्छ ।”
वि.सं. २०४९ सालदेखि नै जनसेवामा समर्पित तण्डुकार जस्तै वडामा धेरै ज्येष्ठ नागरिकहरू हुनुहुन्छ । उहाँहरूमध्ये करिब ८५० जनाले सामाजिक सुरक्षा र पोषण भत्ता प्राप्त गरिरहनुभएको छ । तर, भत्ता र आर्थिक सहयोगले मात्र ज्येष्ठ नागरिकको जीवन पूर्ण हुँदैन ।
काठमाडौँको यो व्यस्त सहरमा हाम्रा पुज्य अभिभावकहरू केवल आर्थिक सहयोग मात्र होइन, कसैको न्यानो उपस्थिति, मीठो बोली र आत्मीयताको पर्खाइमा हुनुहुन्छ । वडाले आगामी दिनमा यस्ता अभिभावकहरूलाई खोजेर उहाँहरूको मानसिक पीडा कम गर्ने र सामाजिक क्रियाकलापमा सक्रिय गराउने लक्ष्य राखेको छ ।
वास्तवमा, सहरको सम्पन्नता तब मात्र झल्किन्छ, जब यहाँका ज्येष्ठ नागरिकहरूका अनुहारमा सन्तोष र मुस्कान देखिन्छ ।