डडेल्धुरामा सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता, महाकालीमा बगेको आशङ्का

डडेल्धुरा, १७ जेठ । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरू नातामा मामाभान्जा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परशुरामको परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ‘ट्युब’ फेला परेकाले नदीमा पौडी खेल्ने वा तर्ने क्रममा बगेर बेपत्ता भएको हुन सक्ने आशङ्का गरिएको डीएसपी सिंहको भनाइ छ।

घटना थाहा पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको टोलीले महाकाली नदी र आसपासका क्षेत्रमा खोजी कार्य तीव्र पारेको छ।