लागुऔषधसहित देशका विभिन्न स्थानबाट १९ जना पक्राउ; इन्टरपोलको ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पनि समातिए

काठमाडौँ, जेठ १७ । नेपाल प्रहरीले अवैध लागुऔषध नियन्त्रणका लागि चलाएको पछिल्लो कारबाहीका क्रममा काठमाडौँसहित देशका विभिन्न जिल्लाबाट १९ जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा लागुऔषध ओसारपसार, बिक्री-वितरण र प्रयोगमा संलग्न व्यक्तिहरू रहेका छन् ।

काठमाडौँ महानगरपालिका-२६ गोँगबु मित्रनगरबाट शनिबार राति ६ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४६ वर्षीय अर्जुनबहादुर भुजेल र २७ वर्षीय सञ्जय गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोँगबुको टोलीले भुजेलको कोठामा छापा मार्दा उक्त लागुऔषध फेला परेको हो ।

यसैगरी, काठमाडौँकै रामहिटी क्षेत्रबाट प्रहरी वृत्त बौद्धको टोलीले ठूलो मात्रामा नियन्त्रित लागुऔषधसहित २९ वर्षीय सुजन लामालाई नियन्त्रणमा लिएको छ। बा प्र ०२-०२८ प ४४७७ नम्बरको स्कुटरमा सवार लामाको साथबाट डाइजेपाम १४० एम्पुल, बुप्रेनोर्फिन १०९ एम्पुल र फेनारगन १३४ एम्पुलका साथै १७ हजार ७०० रुपैयाँ नगद बरामद गरिएको छ ।

काठमाडौँबाहेक दाङ, पर्सा, कैलाली, कञ्चनपुर, सुनसरी र बाँके जिल्लाका विभिन्न स्थानबाट पनि प्रहरीले लागुऔषधसहित अन्य व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ ।

यसैबीच, नेपाल प्रहरीले अन्तर्राष्ट्रिय आपराधिक प्रहरी सङ्गठन (इन्टरपोल) बाट ‘रेड कर्नर नोटिस’ जारी भएका एक फरार अभियुक्तलाई पनि आजै पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका सबै व्यक्तिहरूमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएका छन् ।