आगामी आर्थिक वर्षको बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल सुरु हुँदै

काठमाडौँ, १८ जेठ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने आजको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने कार्यसूची रहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार (जेठ १५ गते) संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि आजदेखि सामान्य छलफल प्रारम्भ हुन लागेको हो।

संसद् सचिवालयका अनुसार बैठकको सुरुमा अर्थमन्त्री वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। सो प्रस्ताव स्वीकृत भएपछि सांसदहरूले बजेटका प्राथमिकता, सिद्धान्त र विनियोजन गरिएका योजनाहरूमाथि केन्द्रित रहेर आ–आफ्नो धारणा राख्नेछन्।

बजेटमाथि दफावार छलफल हुनुअघि गरिने यो सामान्य छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्रीले दिनुहुनेछ। सरकारले यसपटक २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ, जसमाथि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच रोचक बहस हुने अपेक्षा गरिएको छ।