इरान-अमेरिका अप्रत्यक्ष वार्ता भङ्ग: हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने तेहरानको चेतावनी
तेहरान, जेठ १९ । इजरायलले लेबनान र गाजामा सैन्य कारबाही तीव्र पारेको भन्दै इरानले संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको सबै प्रकारका ‘पर्दा पछाडिका’ वार्ताहरू स्थगित गरेको घोषणा गरेको छ। मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावका बीच इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलमार्ग) लाई पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएपछि विश्व बजारमा नयाँ तरङ्ग पैदा भएको छ।
इरानी अर्धसरकारी समाचार संस्था ‘तस्निम’ का अनुसार, लेबनानमा इजरायली आक्रमण र क्षेत्रीय अस्थिरताको मुख्य कारक अमेरिका रहेको ठहर गर्दै तेहरानले मस्यौदा प्रस्तावहरूको आदानप्रदान र शान्ति वार्ताको प्रक्रिया रोक्ने निर्णय गरेको हो।
‘युद्धविराम नभएसम्म वार्ता छैन’
इरानले एक आधिकारिक विज्ञप्ति जारी गर्दै गाजा र लेबनानमा जारी इजरायली सैन्य अभियान तत्काल र सर्तविहीन रूपमा बन्द नभएसम्म अमेरिकासँग कुनै पनि तहमा संवाद नगर्ने प्रस्ट पारेको छ। अप्रिलमा दुई देशबीच भएको भनिएको ‘अलिखित’ युद्धविराम सम्झौतालाई निरन्तरता दिन लेबनानमा शान्ति हुनुपर्ने इरानको पूर्वसर्त थियो। तर, पछिल्ला हप्ताहरूमा इजरायलले सबै मोर्चामा आक्रमण तीव्र पारेपछि इरानले वार्ताको औचित्य सकिएको दाबी गरेको छ।
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिँदै भनेका छन्, “कुनै पनि एक मोर्चामा युद्धविरामको उल्लङ्घन हुनु भनेको सबै मोर्चामा युद्धविराम भङ्ग हुनु हो। अमेरिकाले इजरायलको आक्रामक कदमलाई रोक्नुको सट्टा बढावा दिइरहेको छ।”
हर्मुज जलमार्ग र नयाँ सैन्य रणनीति
इरानले आफ्नो सैन्य एजेन्डा सार्वजनिक गर्दै विश्वको सबैभन्दा व्यस्त तेल पारवहन मार्ग ‘स्ट्रेट अफ हर्मुज’ लाई पूर्ण रूपमा ठप्प पार्न सक्ने चेतावनी दिएको छ। यसको विकल्पमा इरान र उसका सहयोगी शक्तिहरूले ‘बाब अल-मन्डेब’ घाँटी लगायतका अन्य जलमार्गहरूमा आफ्ना गतिविधि सक्रिय बनाउने रणनीति लिएका छन्। यदि हर्मुज जलमार्ग बन्द भएमा विश्वको कुल तेल आपूर्तिको झन्डै २० प्रतिशत हिस्सा प्रभावित हुने देखिन्छ, जसले विश्व अर्थतन्त्रमा ठूलो सङ्कट निम्त्याउन सक्छ।
इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरानविरुद्ध ‘नौसैनिक नाकाबन्दी’ सुरु गरेको आरोप लगाउँदै इजरायलका ‘युद्ध अपराध’ मा अमेरिकाको प्रत्यक्ष संलग्नता रहेको जिकिर गरेका छन्।
पाकिस्तानको मध्यस्थता र रोकिएको प्रक्रिया
रोचक कुरा के छ भने, इरान र अमेरिकाबीचको यो संवाद शृङ्खलामा पाकिस्तानले मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेको थियो। पछिल्लो समय अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा दुई पक्षबीच शान्ति वार्ताको एक चरण सम्पन्न भएको थियो। बितेका हप्ताहरूमा दुवै पक्षले पाकिस्तानमार्फत शान्तिका सर्तहरू समेटिएका धेरै मस्यौदा योजनाहरू साटासाट गरेका थिए।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईका अनुसार, वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र एउटा समझदारी पत्र (MoU) लाई अन्तिम रूप दिने तयारी भइरहेका बेला अमेरिकाले ‘नयाँ र विरोधाभासी’ मागहरू अघि सारेपछि प्रक्रिया अवरुद्ध भएको हो।
ट्रम्पको दाबी र विरोधाभास
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको यो कदमप्रति अनभिज्ञता प्रकट गरेका छन्। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग आफ्नो ‘उत्पादक’ कुराकानी भएको र इजरायल-हेजबुल्लाह युद्ध रोक्न सहमति नजिक पुगेको दाबी गरेका छन्।
ट्रम्पले भनेका छन्, “हामीले लेबनानको राजधानी बेरुतमा कुनै पनि थप सेना नपठाउने र बाटोमा रहेका सैन्य दस्तालाई फिर्ता बोलाउने विषयमा कुराकानी गरेका छौँ।” यद्यपि, इरानले वार्ता रोकेको विषयमा आफूलाई आधिकारिक जानकारी नभएको उनले बताएका छन्।
क्षेत्रीय असर
अप्रिलको मध्यमा इजरायल र लेबनानबीच युद्धविरामको प्रयास भए पनि इजरायलले दैनिक जसो लेबनानमा हवाई र स्थलगत आक्रमण जारी राखेको छ। प्रतिउत्तरमा हेजबुल्लाहले पनि इजरायली सैन्य चौकीहरूमा रकेट आक्रमण गरिरहेको छ। इरानको पछिल्लो निर्णयले मध्यपूर्वमा कूटनीतिक समाधानको बाटो झन् कठिन बनेको विश्लेषकहरूको ठहर छ।(स्रोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)