बजेटमाथि आजदेखि संसदमा छलफल सुरु हुँदै, विपक्षीको अवरोधले अन्योल कायमै
काठमाडौँ, १९ जेठ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सैद्धान्तिक छलफल सुरु गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार बैठकको सुरुमा सभामुख डोलप्रसाद (डिपी) अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । त्यसलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
बजेटमाथि छलफल गर्ने महत्त्वपूर्ण कार्यसूची भए तापनि आजको बैठक सुचारु हुनेमा भने संशय देखिएको छ । नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले हालै दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आन्दोलित छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट नहटाएसम्म सदन अघि बढ्न नदिने अडान राखेका छन् । सत्तारुढ र विपक्षी दलहरूबीच यस विषयमा सहमति जुटाउन भएका प्रयासहरू अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन् । जसका कारण आज पनि विपक्षीको अवरोधले बजेटमाथिको छलफल प्रभावित हुनसक्ने देखिएको छ ।
जेठ १५ गते सार्वजनिक भएको २१ खर्ब २४ अर्बको बजेटमाथि आजदेखि सांसदहरूले आ–आफ्नो धारणा राख्ने तय भए पनि राजनीतिक गतिरोधका कारण संसद् भवन नयाँ बानेश्वरको वातावरण कस्तो रहनेछ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।