राष्ट्रपति कार्यालय शीतल निवासबाट लुटिएको हात्तीको दाह्रासहित काठमाडौँबाट पाँच जना पक्राउ
काठमाडौँ, २० जेठ । राष्ट्रपति कार्यालय शीतल निवासबाट गएको भदौ २४ गते लुटिएको हात्तीको दाह्रासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बहुमूल्य हात्तीको दाह्रा अवैध रूपमा सञ्चय तथा बिक्री–वितरण गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँको मनमैजु बस्ने राजीव महर्जन, गोरखाका टेकप्रसाद गुरुङ, काठमाडौँको वसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोरखाकै सन्तबहादुर भुजेल रहेका छन्।
प्रहरीले प्राप्त विशेष सूचनाका आधारमा मनमैजुस्थित राजीव महर्जनको घरमा छापा मारेको थियो। छापा मार्ने क्रममा उनको घरको खाली जग्गामा गाडेर लुकाएको अवस्थामा हात्तीको दाह्रा फेला परेको थियो। साथै, उनको कोठाबाट १५० क्याप्सुल प्रतिबन्धित फर्मास्युटिकल औषधि ‘ट्रामाडोल’ समेत बरामद भएको छ।
महर्जनसँगको प्रारम्भिक सोधपुछका आधारमा प्रहरीले पुरन बोहरालाई पक्राउ गरेको थियो। बोहराको बयानका आधारमा प्रहरी सन्तबहादुर भुजेलको कोठासम्म पुगेको थियो। भुजेलको कोठामा खानतलासी गर्दा बोराभित्र बेरेर राखेको अवस्थामा थप दुई टुक्रा हात्तीको दाह्रा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका यी दाह्राहरू शीतल निवासबाट लुटिएका बहुमूल्य सामग्री नै भएको प्रहरी स्रोतले पुष्टि गरेको छ।
पक्राउ परेका पाँचै जनामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।