भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको विभत्स हत्या, बचाउन खोज्दा ८ वर्षीय छोरा घाइते
भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका–१० छालिङमा एक युवकले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। घरायसी विवादले उग्र रूप लिँदा शङ्करापुर नगरपालिका–६ नाङ्लेभारे घर भई हाल छालिङमा डेरा गरी बस्ने विदुर विश्वकर्माले ३३ वर्षीया श्रीमती सलिनाको हत्या गरेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेगुका अनुसार गएराति भएको उक्त घटनामा उनीहरूका ८ वर्षीय छोरा त्रिशल समेत घाइते भएका छन्। आमामाथि आक्रमण भइरहेको देखेपछि बचाउन खोज्दा बालकमाथि पनि प्रहार भएको प्रहरीले जनाएको छ।
हत्या अभियोगमा विदुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते बालकको उपचार भइरहेको छ भने मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी जवेगुले जानकारी दिनुभयो। सामान्य विवादले उग्र रूप लिँदा यो दुखद घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।