गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक स्थगित
काठमाडौँ, २१ जेठ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या (कोरम) नपुग्ने भएपछि बस्दै नबसी स्थगित गरिएको छ। समिति सभापति भरतबहादुर खड्काले कोरम पुग्ने अवस्था नदेखिएका कारण बैठक बस्न नसकेको जानकारी दिनुभयो।
सभापति खड्काका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन तथा निर्वाचन भइरहेका कारण सो दलका सांसदहरू अनुपस्थित रहेका र संसद्मा उत्पन्न समसामयिक परिस्थितिका कारण गणपूरक संख्या नपुग्ने अवस्था आएको हो। अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ। प्रतिनिधि सभाको बैठक आगामी जेठ २५ गते बोलाइएकाले त्यसपछि (जेठ २६ वा २७ गते) बैठक बोलाउने तयारी भए पनि मिति भने तोकिइसकेको छैन।
आजको बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग सरकारी बेरुजु न्यूनीकरण गर्ने विषय र समितिको आन्तरिक कार्यविधि पारित गर्ने सन्दर्भमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो। गणपूरक संख्या अपुग भएसँगै ती एजेण्डाहरूमाथि छलफल हुन पाएन।