प्रकृतिमुखी जीवनशैली अपनाउन र वातावरण जोगाउन राष्ट्रपतिको आह्वान
काठमाडौँ, २२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधिमा सक्रिय हुन सबैमा आह्वान गर्नुभएको छ । विश्व वातावरण दिवस (जुन ५, २०२६) का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विकास र वातावरण एक–अर्काका परिपूरक भएको उल्लेख गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तन अनुकूलन क्षमताको विकास र प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य सुनिश्चित गर्न सकिने बताउनुभयो । उहाँले जलवायु परिवर्तन अब भविष्यको खतरा मात्र नभएर वर्तमानकै गम्भीर चुनौती बनेकोतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ ।
“प्रकृति र वातावरण मानव जीवनको आधार हो । स्वच्छ हावा, शुद्ध पानी र हरियाली वनजङ्गलको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो,” शुभकामना सन्देशमा भनिएको छ, “नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा र बाढी–पहिरो जस्ता वातावरणीय असन्तुलनका असरहरू देखिन थालेका छन्, यसप्रति हामी सचेत र जिम्मेवार बन्नु आवश्यक छ ।”
राष्ट्रपतिले वातावरण संरक्षण र हरित विकासका लागि नागरिक समाज, सरकारी निकाय र सरोकारवालाहरूबीच ऐक्यबद्धता हुनुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।