विश्व वातावरण दिवस आज: ‘प्रकृतिमैत्री विकास’ मा जोड दिँदै देशभर विविध कार्यक्रम

काठमाडौँ, २२ जेठ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुन ५ मा मनाइने ‘विश्व वातावरण दिवस’ आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। यस वर्षको दिवसका लागि ‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारा तय गरिएको छ।

दिवसको अवसरमा वातावरण विभागले ललितपुरमा एक विशेष समारोहको आयोजना गरेको छ। उक्त मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ। विभागका अनुसार समारोहमा विभिन्न सरकारी निकायका प्रतिनिधि, विकास साझेदार, वातावरणविद् र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहनेछ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरूको सामना र प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न यो दिवसलाई विशेष रूपमा मनाउन लागिएको जानकारी दिनुभयो।

यस वर्षको दिवसलाई केवल एक दिनमा मात्र सीमित नगरी सप्ताहव्यापी रूपमा मनाउने सरकारको योजना छ। सोहीअनुसार आज देशभरका स्थानीय तह, विद्यालय, वन उपभोक्ता समिति र विभिन्न गैरसरकारी संस्थाहरूले वृक्षारोपण, सरसफाइ अभियान, पदयात्रा र अन्तरक्रिया जस्ता रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।
बढ्दो सहरीकरण र जलवायु परिवर्तनका कारण हिमाल पग्लिने तथा प्राकृतिक विपत्ति बढ्दै गएको सन्दर्भमा यस वर्षको नाराले दिगो र प्रकृतिमैत्री पूर्वाधार विकासमा विशेष जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *