क्षयरोगमुक्त बन्ने अभियानमा तुलसीपुर: ‘एआई एक्सरे’मार्फत ३५५ सङ्क्रमित फेला
दाङ, २३ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई क्षयरोगमुक्त बनाउन आधुनिक प्रविधिको प्रयोगलाई तीव्रता दिइएको छ । उपमहानगरले ‘एआई एक्सरे’ मेसिनमार्फत समुदायस्तरमै पुगेर सङ्क्रमित पहिचान गर्ने कार्यलाई प्रभावकारी बनाएको हो ।
हालसम्म उपमहानगरका १९ मध्ये १७ वटा वडामा एआई एक्सरेमार्फत बिरामीको खोजी भइसकेको छ । कार्यक्रमका फोकल पर्सन शिवप्रसाद तिवारीका अनुसार वडा नं. २ र १३ बाहेक अन्य सबै वडामा यो प्रविधि प्रयोग गरी सङ्क्रमित पत्ता लगाइएको छ । “पहिले साधारण एक्सरे र माइक्रोस्कपीबाट गरिने परीक्षणभन्दा एआई एक्सरे निकै प्रभावकारी देखिएको छ,” तिवारीले भन्नुभयो, “यसले चिकित्सकहरूलाई रोगको सही पहिचान गर्न ठूलो सहजता प्रदान गरेको छ ।”
तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओमपी न्यौपानेका अनुसार एआई एक्सरेले साधारण सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कपी) बाट नदेखिएका सङ्क्रमण समेत देखाउने गर्दछ । एआई एक्सरेमा शङ्कास्पद देखिएका बिरामीहरूको अन्तिम पुष्टिका लागि राप्ती प्रादेशिक अस्पतालमा रहेको ‘जीनएक्सपर्ट’ (GeneXpert) मेसिनमा परीक्षण गरिन्छ । त्यहाँ रिपोर्ट पोजेटिभ देखिएपछि मात्रै बिरामीको उपचार सुरु हुन्छ ।
चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म तुलसीपुरमा ३५५ जनामा क्षयरोग पुष्टि भएको छ । सङ्क्रमितमध्ये १५ वर्षमुनिका ३४ जना र सोभन्दा माथिका ३२१ जना रहेका छन् । उपमहानगरको तथ्याङ्कअनुसार यहाँ प्रत्येक एक लाख जनसङ्ख्यामा २२७ जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ ।
शाखा प्रमुख न्यौपानेले पहिचान भएका ९७ प्रतिशत सङ्क्रमितलाई उपचारको दायरामा ल्याइएको जानकारी दिनुभयो । सङ्क्रमितहरूलाई ‘डट्स’ विधिअन्तर्गत ६ महिनासम्म स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिएको छ ।
तुलसीपुरलाई क्षयरोगमुक्त बनाउने यो महत्त्वाकाङ्क्षी अभियान आर्थिक वर्ष २०८१/८२ देखि सुरु भएको हो । हाल उपमहानगरभित्र १३ वटा डट्स केन्द्र र चार स्थानमा टीबी माइक्रोस्कपी सेवा सञ्चालनमा रहेका छन् । प्रविधिको उच्चतम् प्रयोगले आगामी केही वर्षभित्रै नगरलाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य राखिएको छ ।