टिकटकर ‘नेपाली ब्रो’ द्वारा सैनिक पत्नीको रड प्रहार गरी हत्या

काठमाडौँ, २३ जेठ । ‘नेपाली ब्रो’ नामले सामाजिक सञ्जालमा चिनिने टिकटकर कुमार थापा मगरले आफ्नै पत्नीको हत्या गरेका छन् । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा मगरले ३३ वर्षीया पत्नी ईश्वरी भुजेलको टाउकोमा फलामको रड प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार यो घटना शुक्रबार राति १०:१० बजे भएको हो । मृतक ईश्वरी नेपाली सेनामा कार्यरत थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मगर र भुजेलबीच लामो समयदेखि विवाद रहेको र उनीहरू सम्बन्ध विच्छेदको तयारीमा थिए । शुक्रबार राति ईश्वरी कामबाट घर फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए । उनी घरको ढोका अगाडि पुग्नासाथ कुमारले रडले टाउकोमा कडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटनालगत्तै स्थानीयले उद्धार गरी उनलाई सुरुमा तारकेश्वर अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि अत्यधिक रक्तस्रावकै अवस्थामा उनलाई त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) लगिएको थियो । अस्पतालको आकस्मिक कक्षमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

घटनापछि फरार भएका ४२ वर्षीय कुमार थापा मगरलाई प्रहरीले शुक्रबार राति नै बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको छ । उनी हाल जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा छन् । प्रहरीले घटनास्थलबाट प्रहार गरिएको रड बरामद गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पतालमै राखिएको छ ।