वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ,  जेठ २३ । वैदेशिक रोजगारीका लागि ग्रीस र जापान पठाइदिने भन्दै आकर्षक तलब र सेवा सुविधाको प्रलोभन देखाई ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका ३ बस्ने लक्ष्मी थापा कार्की र बुढानिलकण्ठ नगरपालिका ८ बस्ने प्रिया बानियाँ रहेका छन् ।

पक्राउ परेकी लक्ष्मीले ग्रीस पठाइदिने विश्वास दिलाई एक पीडितबाट रु ११ लाख ५० हजार ठगी गरेको पाइएको छ । त्यसैगरी, प्रियाले जापान पठाइदिने बहानामा पीडितबाट रु २ लाख लिई सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जानकारी दिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू बढेसँगै प्रहरीले सक्रियता बढाएको छ ।