९ महिनादेखि फरार रहेका कास्की कारागारका कैदी म्याग्दीमा पक्राउ

काठमाडौँ, जेठ २३ । कास्की कारागारबाट फरार भएका एक कैदीलाई ९ महिनापछि म्याग्दीको बेनी नगरपालिका ९, गलेश्वरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । ‘जेनजी’ आन्दोलनको मौका छोपी कारागारबाट भाग्नुभएका पोखरा महानगरपालिका ९ का ५४ वर्षीय लक्ष्मण मगराती भनिने कृष्णबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्तीकरणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भई सात वर्षको कैद सजाय काटिरहनुभएका सार्कीलाई शनिबार नै जिल्ला कारागार कार्यालय बेनी चलान गरिएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार शुक्रबार राति करिब ९ बजे गलेश्वर क्षेत्रमा शङ्कास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा उहाँलाई फेला पारिएको थियो । उहाँलाई एक रात हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बाँकी कैद भुक्तानका लागि कारागार पठाइएको हो ।

अनुसन्धानका क्रममा सार्की कास्की कारागारमा रहँदा ‘सहनाइके’ को जिम्मेवारीमा रहनुभएको खुलेको छ । उहाँ गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कारागारबाट फरार हुनुभएको प्रहरीले पुष्टि गरेको छ । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहनुभएका उहाँ अन्ततः म्याग्दीमा फेला पर्नुभएको हो ।