ईश्वरी हत्या प्रकरण : ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगरपछि थप ३ जना पक्राउ, ५ दिनको म्याद थप
काठमाडौं, २४ जेठ । तारकेश्वर नगरपालिका–६, लोलाङस्थित पैँयुटारमा भएको ईश्वरी भुजेलको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । धारिलो हतियार प्रहार गरी भएको उक्त हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
यसअघि प्रहरीले हत्याका मुख्य अभियुक्त मानिएका मृतकका पति ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगरलाई हिजै बालाजुबाट नियन्त्रणमा लिएको थियो । कुमार पक्राउ परेपछि मृतकका माइती पक्षले घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा थप तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट क्षेत्र नं. ३ घर भई हाल तारकेश्वर बस्ने ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौंको बालाजु बस्ने ४० वर्षीया पुजन थापा र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य रहेका छन् ।
पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको छ । उनीहरूलाई हिरासतमा राखेर हत्याको कारण र योजनाबारे विस्तृत सोधपुछ भइरहेको एसपी भट्टराईले बताए ।