औद्योगिक क्षेत्रको भाडा नतिरे बोटलर्स नेपालसहित ७ उद्योग सिल गरिने
काठमाडौँ, २६ जेठ । औद्योगिक क्षेत्रभित्र वर्षौँदेखि सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा तथा महशुल नतिर्ने ठूला उद्योगीहरूमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे उद्योगको लाइन काट्ने र परिसर सिल गर्ने चेतावनी दिएकाे छ ।
औद्योगिक क्षेत्र व्यवस्था लिमिटेडले सार्वजनिक गरेको विवरणअनुसार बालाजु औद्योगिक क्षेत्रभित्रका नाम चलेका बहुराष्ट्रिय कम्पनी र व्यापारिक घरानाहरू नै सबैभन्दा बढी बक्यौता राख्ने सूचीमा छन् ।
१. गुराँस इन्जिनियर्स प्राइभेट लिमिटेड : ३ करोड ७३ लाख १९ हजार रुपैयाँ
२. कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज : ३ करोड ६९ लाख १० हजार रुपैयाँ
३. बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक : २ करोड ५५ लाख ८६ हजार रुपैयाँ
४. बोटलर्स नेपाल (कोकाकोला) : १ करोड ७५ लाख रुपैयाँ (जग्गा तथा पूर्वाधार बहाल)
५. बालाजु अटो वक्र्स प्रालि : १ करोड ४५ लाख रुपैयाँ
६. नेपाल ग्यास उद्योग : १ करोड ३१ लाख रुपैयाँ (जग्गा बहाल)
७. कन्टिनेन्ट सर्भिसेज प्रालि : करिब १ करोड रुपैयाँ
यसअघि आर्थिक मन्दी र औद्योगिक प्रवर्द्धनको बहाना बनाएर यी उद्योगहरूले भाडा तिर्न आनाकानी गरेका हुन् । मन्त्री गौरीकुमारी यादवले राज्यको कोषमा आउनुपर्ने राजस्वमा कुनै सम्झौता नहुने स्पष्ट पारेकी छिन् ।
“यो पटक पत्र काटेर मात्र छोडिने छैन,” मन्त्री यादवले भनिन्, “सात दिनभित्र बैंक भौचरसहित उपस्थित नहुने उद्योगहरूको बिजुली काटिनेछ र उद्योग परिसर सिल गरिनेछ । अटेर गर्ने सञ्चालकहरूविरुद्ध सिधै वारेन्ट जारी गरी राज्यको सम्पत्ति असुल गरिनेछ ।”
उद्योगहरूले नियमित रूपमा जग्गा बहाल, भवन भाडा, विद्युत् र पानीको महशुल नबुझाउँदा औद्योगिक क्षेत्रभित्र नयाँ पूर्वाधार निर्माण र पुराना संरचनाको मर्मतसम्भारमा गम्भीर असर परेको छ । ठूला उद्योगीको बदमासीका कारण साना उद्योगहरूलाई सेवा दिन समेत आर्थिक सङ्कट उत्पन्न भएको लिमिटेडले जनाएको छ ।