पाल्पामा ८४२ जनामा एचआइभी सङ्क्रमण, सामाजिक लाञ्छनाका कारण झण्डै ५०० सङ्क्रमित अझै सम्पर्क बाहिर
पाल्पा, ३० जेठ । पाल्पा जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ८४२ पुगेको छ । तर, तीमध्ये आधाभन्दा कम सङ्क्रमितले मात्रै नियमित रूपमा औषधि सेवन गरिरहेको पाइएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार कुल सङ्क्रमितमध्ये ३५४ जनाले मात्रै अहिले नियमित रूपमा एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) औषधि सेवन गरिरहेका छन् । बाँकी सङ्क्रमितहरू भने सामाजिक लाञ्छना, भेदभाव र तिरस्कारको डरले अझै पनि स्वास्थ्य निकायको सम्पर्कमा नआएको वा औषधि सेवन नगरेको पाइएको हो ।
स्वास्थ्य कार्यालयका क्षयकुष्ट रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार पाल्पा अस्पताल र रामपुर अस्पतालमा रहेका ‘एआरटी सेन्टर’ बाट सङ्क्रमितहरूले नियमित औषधि लिइरहेका छन् । औषधि सेवन गर्ने ३५४ जनामध्ये १२ जना बालबालिका रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा पाँच जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क छ ।
समाजमा अझै पनि एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा सुधार नआएका कारण धेरै व्यक्तिहरू खुल्न नसकेको न्यौपानेले बताए । “अपमान र भेद्भावको डरले गर्दा सङ्क्रमितहरू लुकेर बस्न बाध्य छन्, जसले गर्दा सङ्ख्या अझै बढी हुन सक्ने अनुमान छ,” उनले भने । नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, तेस्रोलिङ्गी र वैदेशिक रोजगारीमा जानेहरू एचआइभीको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयको भनाइ छ ।
यसैबीच, स्वास्थ्य कार्यालयले जनप्रतिनिधि, प्रहरी, पत्रकार र जोखिम समूहबीच आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सङ्क्रमितलाई सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । सङ्क्रमितले नियमित स्वास्थ्य परीक्षण गराउने, सन्तुलित आहार लिने र स्वस्थ जीवनशैली अपनाएमा सामान्य नागरिक सरह जीवन जिउन सक्छन् ।
परिवार नियोजन सङ्घका प्रबन्धक शोवाकान्त न्यौपानेले एचआइभी लागेका व्यक्तिलाई शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत सेवाबाट वञ्चित गरिन नहुने बताउनुभयाे । प्रतिबद्ध समूहकी प्रबन्धक अस्मिता भण्डारीले सङ्क्रमितहरू समाजको भयले खुल्न सकेका छैनन्, उनीहरूलाई त्रासमुक्त वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयाे ।
पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सञ्चारमाध्यमले सचेतनामूलक सामग्रीमार्फत समाजको सोच परिवर्तन गर्न भूमिका खेल्नुपर्ने बताउनुभयाे । चिकित्सकहरूका अनुसार नियमित औषधि सेवन गर्दा शरीरमा भाइरसको प्रभाव नियन्त्रणमा रहने र रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले सङ्क्रमितलाई निर्धक्क भएर स्वास्थ्य सेवा लिन आग्रह गरिएको छ ।