समाज सेवामा योगदान पुऱ्याउने ७० व्यक्तित्वलाई काठमाडौँ महानगर वडा नं. ८ को सम्मान

काठमाडौँ,  जेठ ३१ । काठमाडौँ महानगरपालिका वडा नं. ८ ले विभिन्न क्षेत्रमा आबद्ध रही समाज सेवामा उल्लेखनीय योगदान पुऱ्याउने ७० जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ । वडा कार्यालयले बिहीबार एक विशेष समारोह आयोजना गरी पूर्व उपराष्ट्रपतिदेखि स्थानीय तहमा सेवा गर्ने विभिन्न पेशाकर्मी र ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको हो ।

वडाले शिक्षा, स्वास्थ्य, खेलकुद, कला-साहित्य, उद्यम-व्यवसाय, राष्ट्रसेवक, ज्येष्ठ नागरिक र धर्म-संस्कृतिका क्षेत्रमा साधकका रूपमा रहेका व्यक्तिहरूलाई दोसल्ला र सम्मान-पत्रद्वारा सम्मानित गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्मानित व्यक्तित्वहरूले आ–आफ्नो पेशागत क्षेत्रको विकासका साथै लोकतन्त्रको जग बलियो बनाउन ठूलो योगदान पुऱ्याएको चर्चा गर्नुभयो । उहाँले राजनीतिलाई वास्तविक सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

त्यसैगरी, प्रथम उपराष्ट्रपति परमानन्द झाले वडाले सक्रिय जीवनपछि घरमा रहेका नागरिकहरूलाई सार्वजनिक रूपमा सम्मान गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो । उहाँले वडा नागरिकको सुख र दुःख दुवैको वास्तविक साथी भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति एवं वडाध्यक्ष आशामान संगतले वडाभित्रका विभिन्न क्षेत्रका विज्ञ र योगदानकर्ताहरूलाई वडाको ‘वैभव’ का रूपमा चित्रण गर्नुभयो । उहाँले प्रतिशोधभन्दा स्वच्छ प्रतिस्पर्धा र सहकार्यबाट मात्र उन्नत समाज निर्माण सम्भव रहेको बताउनुभयो ।

सम्मानित व्यक्तित्वहरू
समारोहमा उद्यमी व्यवसायीहरू संञ्चित वज्राचार्य, प्रशान्त मण्डल, विकास वैद्यलगायत ७ जना सम्मानित हुनुभएको छ । स्वास्थ्य क्षेत्रतर्फ डा. सञ्जय श्रेष्ठ, डा. गोविन्द ढकाल, प्रा. डा. मोडन प्रधानसहित १० जना चिकित्सकहरू सम्मानित हुनुभयो ।

शिक्षा क्षेत्रबाट डा. चन्द्रमणि अधिकारी, हृदयमान श्रेष्ठ लगायत ९ जना, र कला–साहित्य विधाबाट राजेश मानन्धर, अजित गौतम, सरिता मिश्रसहित ८ जना सम्मानित हुनुभयो । यस्तै, राष्ट्रसेवक कर्मचारीहरू टंकमणि शर्मा, नवदत्त उपाध्यायसहित ७ जना र खेलकुद विधामा कविराज नेगी, अदिप्शा वैद्यसहित ७ जनालाई सम्मान प्रदान गरिएको छ ।

संस्कृति तथा धर्म विधामा संस्कृतिविद् मुकुन्द वैद्य, डा. केदारमान भण्डारी, पुजारी मृत्युञ्जय कर्माचार्यसहित १० जना र ज्येष्ठ नागरिकहरू रत्नमान श्रेष्ठ, ठूली सिलवाल, गणेश महर्जनसहित ७ जनालाई उहाँहरूको योगदानको कदर गर्दै सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

यस सम्मान कार्यक्रमले वडा र वडावासीबीचको सम्बन्धलाई थप आत्मीय र प्रगाढ बनाएको वडा कार्यालयको विश्वास छ ।