सिरहामा २१ किलो गाँजासहित मगर पक्राउ
सिरहा, ३१ जेठ । सिरहाको सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट प्रहरीले २१ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले शनिबार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मगरलाई रोकेर खानतलासी गरेको थियो। जाँचका क्रममा उहाँको साथबाट २१ किलो गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका मगर र बरामद गाँजालाई जिल्ला प्रहरी कार्यालयमा राखी लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।