काठमाडौँका ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई प्राथमिकतामा

काठमाडौं, ३१ जेठ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

यो पटकको विगत वर्षहरुमा झैँ काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको रुपमा लिएको डंगोलले जानकारी दिनुभयो । परिवर्तित परिवेश र काठमाडौंवासीको उत्कृष्ट चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखी नीति तथा कार्यक्रम तयार गरेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी यो पटकको नीति तथा कार्यक्रमले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा सघाउ पुग्ने अपेक्षा लिएको पनि उहाँले जानकारी दिनुभयो ।

‘आगामी आर्थिक वर्ष २०८३र८४ को लागि नगरसभाको यस बैठकमा प्रस्तुत भएको काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमको कार्यान्वयनबाट संघीय राजधानी काठमाडौँको अपेक्षित लक्ष्य हासिल हुने अपेक्षा गरेको छु,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, संस्कृति तथा सम्पदा संरक्षण र दिगो सहरी विकासलाई सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु ।’