राष्ट्रियता र जनसरोकारका विषयमा संसद्‌मा प्रतिपक्षीको आक्रोश, सीमा सुरक्षादेखि स्थानीय बेथितिबारे सरकारसँग जवाफ माग

काठमाडौँ, १ असार । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले राष्ट्रियता, सीमा सुरक्षा र जनसरोकारका विभिन्न संवेदनशील विषयहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विरोध प्रदर्शन गरेका छन्। बैठकको सुरूमै विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्ने समय दिनुभएको थियो।

बैठकमा बोल्दै उपनेता अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएका कतिपय अभिव्यक्तिबारे स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो। साथै, उहाँले संसद्‌मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूलाई लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले बिनाअनुमति भारतीय सेनाको हेलिकप्टर दार्चुलाको नेपाली आकाशमा प्रवेश गरेको विषयमा सरकारको आधिकारिक जवाफ माग गर्नुभयो। उहाँले इलामको प्रसिद्ध चिया उद्योग बन्द हुन लागेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहले गत जेठ १७ गते सीमाका सम्बन्धमा दिनुभएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गर्नुभयो। यसका साथै उहाँले स्थानीय तहमा भइरहेका प्रशासनिक बेथितिहरू, जस्तै सिराहामा एसईईका विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको, चुरे वन क्षेत्रमा कवाडी टेम्पो भिरबाट खसालिएको र प्रहरीले सर्वसाधारणको घरमा ढुङ्गा हानेर क्षति पुर्‍याएको घटनाहरू कानुन विपरीत भएको भन्दै तीव्र आलोचना गर्नुभयो।

नेपाली कांग्रेसका सांसद रेनुका काउँचाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी समितिले तयार पारेको प्रतिवेदन सरकारले गोप्य राखेको भन्दै सो प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपप्रति विनावर्दीका सिपाही बनेर नेपाली नागरिकले देखाएको अदम्य साहसप्रति सम्मान व्यक्त गर्दै सीमा क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षामा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो।