सुर्खेतको सामुदायिक वनमा अनियमितता: तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, १ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरू विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको अभियोगमा तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध आइतबार आरोपपत्र दायर गरिएको हो।

आयोगका अनुसार साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा, सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढाको मिलेमतोमा वनको आर्थिक वर्ष २०७८/७९ मा रुख कटान गरी बिक्री गर्दा प्राप्त रकम हिनामिना गरिएको पाइएको छ।

आयोगले तत्कालीन अध्यक्ष महतारा, सचिव पौड्याल र कोषाध्यक्ष बुढाविरुद्ध समान ७ लाख १५ हजार ९१९ रुपैयाँ बराबरको बिगो कायम गरेको छ। उनीहरू विरुद्ध बिगो बमोजिमको जरिवाना र कानुन अनुसार कैद सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *