इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा नरहेको स्पष्टोक्ति

एजेन्सी, २ असार । मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण हालसम्म कुनै मानवीय वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

भूकम्प मध्य सुलावेसी प्रान्तको पालु सहरभन्दा केही पर दक्षिण-पूर्वमा स्थानीय समय अनुसार बिहान १०ः२७ बजे गएको हो। इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भूभौतिकी एजेन्सीका अनुसार पालु र सिगी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो। भूकम्पपछि समुद्रमा सुनामी आउने कुनै खतरा नरहेको अधिकारीहरूले स्पष्ट पारेका छन्।

प्रशान्त महासागरीय क्षेत्रको अत्यधिक संवेदनशील ‘रिंग अफ फायर’ (भूकम्पीय जोखिम क्षेत्र) मा अवस्थित रहेका कारण दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियामा बारम्बार भूकम्प र ज्वालामुखी जाने गर्दछ।

यसअघि सन् २०१८ मा पालु सहरमै आएको ७.५ म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण २ हजार २०० भन्दा बढी मानिसको ज्यान गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *