सप्तरीमा तस्करको आक्रमणबाट प्रहरी सहायक निरीक्षक घाइते, छानबिन तीव्र

सप्तरी, ४ असार । सप्तरीको बलानबिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सीमा क्षेत्र (दशगजा) नजिक भएको यस घटनामा रामनगर कोदरकट्टी प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) रामकुमार यादव घाइते हुनुभएको छ।

स्थानीय बासिन्दाका अनुसार सीमा स्तम्भ नम्बर २४३ नजिक अवैध तस्करी भइरहेको सूचना पाएपछि अनुगमन र सुरक्षाका लागि पुगेको प्रहरी टोलीमाथि तस्करहरूले हातपात गरेका थिए। तस्कर समूहले भारतीय नागरिकहरूलाई समेत बोलाएर प्रहरी टोलीमाथि योजनाबद्ध आक्रमण गराएको बताइएको छ। आक्रमणपछि सीमा क्षेत्रमा केही समय तनावको स्थिति सिर्जना भएको थियो।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेले ड्युटीमा खटिएको प्रहरी टोलीमाथि कुटपिट भएको पुष्टि गर्नुभयो। उहाँले घटनाको छानबिन गर्न र आक्रमणमा संलग्न फरार अभियुक्तहरूलाई नियन्त्रणमा लिन सीमा क्षेत्रमा थप प्रहरी टोली परिचालन गरी अनुसन्धान तीव्र पारिएको बताउनुभयो।