ठूलो परिमाणको ब्राउन सुगरसहित सासु र बुहारी पक्राउ

काठमाडौँ, असार ६ ।  सुनसरीको इटहरी उपमहानगरपालिका १७, पकलीबाट प्रहरीले अवैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदार रहेका छन् ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको विशेष टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार, सरातुनको घरमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले घरमा खानतलासी गर्ने क्रममा सरातुनले बोकेको कपडाको झोलाभित्र लुकाएर राखिएको अवस्थामा २१.५० ग्राम ब्राउन सुगर फेला पारेको थियो ।

पक्राउ परेका सासु र बुहारी दुवैलाई हाल इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐनअनुसार कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।