केन्द्रीय कारागारबाट फरार लागुऔषध मुद्दाका अभियुक्त राई शङ्खपार्कबाट पक्राउ

काठमाडौँ, असार ७ । नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक अभियुक्तलाई काठमाडौँको शङ्खपार्कबाट पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका चितवन राप्ती नगरपालिका-२ पिप्लेका ४६ वर्षीय प्रभुराम राईलाई आज नियन्त्रणमा लिएको हो ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार राई गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनको समयमा केन्द्रीय कारागारबाट फरार भएका थिए। पक्राउ परेका राईविरुद्ध लागुऔषध (खैरो हिरोइन) सम्बन्धी दुई वटा मुद्दा दर्ता रहेका छन् ।

प्रहरीका अनुसार वि.सं २०८१ मङ्सिर २५ गते दर्ता भएको उक्त मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । पक्राउ परेका राईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।