बागमती प्रदेशका सूचक उत्साहजनक: साक्षरता ८२ प्रतिशत माथि, प्रतिव्यक्ति आयमा पनि अग्रणी
काठमाडाैं, ८ असार । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ । राष्ट्रिय औसत साक्षरता ७६.२ प्रतिशत रहेको अवस्थामा बागमती प्रदेशले शैक्षिक र आर्थिक विकासका सूचकहरूमा मुलुकको औसतभन्दा राम्रो प्रगति हासिल गरेको देखिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सार्वजनिक गर्नुभएको विवरणअनुसार, बागमती प्रदेशले आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय र गरिबी निवारणका क्षेत्रमा अन्य प्रदेशको तुलनामा बलियो उपस्थिति जनाएको छ ।
चालु आर्थिक वर्षमा मुलुकको समग्र आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ भने बागमती प्रदेशको वृद्धिदर ५.४० प्रतिशत रहने प्रक्षेपण गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ सम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ अर्ब रुपैयाँ पुग्ने अनुमान छ, जसमा बागमती प्रदेशको हिस्सा मात्रै ३६.७ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब रुपैयाँ रहने मन्त्री तामाङले जानकारी दिनुभयो ।
आर्थिक रूपमा बागमती प्रदेशका बासिन्दाको जीवनस्तर तुलनात्मक रूपमा उच्च देखिएको छ । मुलुकको प्रतिव्यक्ति आय औसतमा १ हजार ५३५ अमेरिकी डलर रहँदा बागमती प्रदेशमा यो सबैभन्दा बढी अर्थात् २ हजार ६४४ डलर पुग्ने प्रक्षेपण गरिएको छ ।
गरिबी निवारणको क्षेत्रमा पनि प्रदेशले उल्लेख्य प्रगति गरेको छ । निरपेक्ष गरिबी: राष्ट्रिय दर २०.२७ प्रतिशत हुँदा बागमतीमा १२.५९ प्रतिशत मात्र छ । बहुआयामिक गरिबी: मुलुकभर १७.४ प्रतिशत रहँदा बागमती प्रदेशमा यो दर ७.० प्रतिशतमा झरेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमार्फत यी तथ्याङ्कहरू सार्वजनिक गर्दै प्रदेशको विकासको गतिलाई थप उचाइमा पुर्याउने लक्ष्य राखेको छ । मुलुकको अर्थतन्त्रमा बागमती प्रदेशले करिब एक तिहाइभन्दा बढी योगदान दिएको तथ्याङ्कले देखाउँछ ।